रौतहट, ४ असार । रौतहटको मौलापुर नगरपालिकामा सुरक्षाकर्मीहरुले सवारी जाँचको क्रममा एकथान कटुवा पेस्तोल, गोलीसहित दुई जनालाई शुक्रबार साँझ पक्राउ गरेर आइतबार जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको छ ।
ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटेको प्रहरीले मौलापुर–५ स्थित आईटी चोकमा विभिन्न सवारी र पैदल यात्रुहरु जाँच गर्ने क्रममा वीरगन्जबाट आउँदै गरेको यूपि ५७ एफ ३२३८ नम्बरको मोटरसाइकल जाँच गर्दा सिट मुनि लुकाइ छिपाई राखेको अवस्थामा कटुवा पेस्तोल १ थान र गोली १ थान फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिनुभएको छ ।
हतियारसहित सर्लाहीको मंलगवा नगरपालिका–७ बस्ने मोटरसाइकल चालक उमेश राय र पछाडि सवार मोहन रायसमेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।