जनकपुरधाम,२८ फागुन । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका स्थित महेन्द्रनगर इलाका प्रहरी कार्यालयको हिरासत तोडेर लामो समयदेखि फरार एक थुनुवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका ७ का ३६ वर्षीय शंकर महतो रहेका छन । उनलाई शनिबार राति ८ बजे पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १६ इनर्वास्थित भन्सार हुँदै लुकीछिपी नेपालबाट भारततर्फ भाग्ने क्रममा पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभएको छ ।
माघ १२ गते उनी हातहतियार खरखजाना मुद्दामा मिथिला नगरपालिका २ स्थित नक्टाझिजबाट पक्राउ परेका थिए । गएको फागुन १५ गते राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर ६ जना थुनुवा फरार भएका थिए ।
जसमध्ये चारजनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने एकजना अझै फरार रहेका छन ।